एजेन्सी – चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको चीनको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ ।
चाङ्ग–अ फाइभ अभियान अन्तर्गत नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष पछि चीनको चाङ्ग–अ फाइभ अभियानले नमुना ल्याएको हो ।
अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्ने बताइएको छ । चाङ्ग–अ फाइभ अभियान सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा पनि हेरिनेछ ।
चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डर भनिने भागले त्यहाँ वरपरको क्षेत्र अवलोकन गरेर भुइँबाट चट्टान र धूलो सङ्कलन गरेको थियो ।
उसले कति नमुना सङ्कलन गर्यो भन्ने स्पष्ट खुलाइएको छैन । त्यसरी सङ्कलन गरिएको नमुनालाई चन्द्रमाको कक्षमा घुमिरहेको असेन्डर भनिने यानमा पठाएर त्यसलाई पृथ्वीमा फर्काइएको हो ।