नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ ।
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का प्रवक्ता किरण राईले जानकारी दिए । एसियन छनोटअन्तर्गत नेपाल समूह ‘बी’मा रहेको छ ।
समूह बीमा नेपालसहित अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ । समान खेलबाट १० अङ्क जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्कसहित चौथो स्थानमा छ ।
विश्वकप छनोटको खेलका लागि तयारी गर्न एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सञ्चालन गर्दैछ । बन्द प्रशिक्षणका लागि एन्फाले ५८ खेलाडीलाई बोलाएको छ । मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा दिएपछि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको एन्फा प्रवक्ता राईले जानकारी दिए ।
कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएका हुन् ।