माननीयहरुको द्रव्य मोह : अर्बपति नै लिन्छन् मासिक घर मर्मत खर्च

0
11
ad

काठमाडौं । संघीय सांसदसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठमा विशाल कम्पाउण्डसहितको घर छ । देउवाले घर मर्मत बापत मासिक १२ हजार ८०४ रुपैयाँ सरकारबाट लिइरहेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले पनि मासिकरुपमा घर मर्मत खर्च लिइरहेका छन् । नेपालले कोटेश्वर र खनालले डल्लुस्थित घर मर्मत गर्न खर्च लिइरहेको देखिन्छ ।

अरु त अरु, धनाढ्यहरुको विश्व सूचीमा रहेका सांसद बिनोद चौधरीले समेत मासिक नेरु. ९ हजार घर मर्मत खर्चको लोभ त्याग्न सकेको देखिएन । देशका जानेमानेका ठेकेदार रहेका सांसद जिप छिरिङ लामाले पनि मासिक ९ हजार घरमर्मतको नाममा लिइरहेकै छन् ।

उनीहरुले यो सुविधा प्रचलित ऐनकानुन अनुसारै लिएका हुन् । तर संघीय संसदमा रहेका करोडपति नेतादेखि उद्योगी–व्यापारीसम्मले यस्तो सुविधा त्याग्ने हिम्मत देखाएका छैनन् ।

कानुनी व्यवस्था

संघीय संसदका पदाधिकारीको सुविधा सम्बन्धी ऐन, २०७३ को दफा ६ को उपदफा १ मा संघीय संसद सदस्यलाई आवासको निमित्त सरकारका तर्फबाट सरकारी घरको बन्दोबस्त गरिने भनिएको छ । सरकारी घरको बन्दोबस्त नहुँदासम्म काठमाडौं उपत्यकामा घर नभएका सांसदलाई मासिक १८ हजार आवास सुविधा बापत दिने उल्लेख छ ।

पदाधिकारी (सभामुख र राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलको नेता, सत्ता पक्षको नेता, उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष, दलको प्रमुख सचेतक, सत्तापक्षको सचेतक, विपक्षी दलको सचेतक) ले भने १८ हजारभन्दा बढी पाउने व्यवस्था छ ।

सोही दफाको उपदफा २ मा भनिएको छ– उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं उपत्यकामा घर हुने पदाधिकारी वा सदस्यलाई आवास मर्मत र सम्भार बापत सो उपदफा बमोजिमको रकमको आधा (सांसदलाई ९ हजार) रकम दिइनेछ । सांसदहरुले यही ऐनअनुसार आवास मर्मत र सम्भारको नाममा रकम लिँदै आएका छन् ।

तर हरेक महिना घर मर्मत गर्न नपर्ने भए पनि घर मर्मतसम्भारको नाममा सांसदहरुले सो शीर्षकमा मासिक रकम लिन भने छाडेका छैनन् ।

अरु क–कसले लिन्छन् घर मर्मत खर्च ?

अनलाइनखबरलाई प्राप्त विवरण अनुसार २७५ सदस्यीय प्रतिनिधिसभाका ९५ जना र ५९ सदस्यीय राष्ट्रिय सभाका १५ जना गरी ११० सांसदको काठमाडौंमा आफ्नै घर छ । घर भएका कारण उनीहरुले मर्मत खर्चको नाममा घर भाडाको आधा रकम लिइरहेका छन् ।

घर मर्मत खर्च लिने प्रतिनिधि सभा सदस्यमा सुवास चन्द्र नेम्वाङ, विष्णु प्रसाद पौडेल, भीमबहादुर रावल, देव प्रसाद गुरुङ, पम्फा भुसाल, महेश बस्नेत, रामकुमारी झाँक्री, नविना लामा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, गोकर्ण विष्ट, गोकुलप्रसाद बास्कोटा, कृष्णभक्त पोखरेल, विन्दा पाण्डे, विरोध खतिवडा, विद्या भट्टराई, नवराज सिलवाल, सोमप्रसाद पाण्डे, खगराज अधिकारी, तुल्सी थापा छन् ।

संसद सचिवालयको विवरण अनुसार शशांक कोइराला, प्रकाशमान सिंह, बालकृष्ण खाँण, नारायण खड्का, चित्रलेखा यादव, ज्ञानेन्द्र बहादुर कार्की, सुजाता कोइराला, सुरेन्दप्रसाद पाण्डे, मिनेन्द्र रिजाल, गगनकुमार थापा, भरतकुमार शाह, पुष्पा भुषाल गौतम, उमाकान्त चौधरी, भिमसेनदास प्रधान, अमरेश कुमार सिंह, उमेश श्रेष्ठ, देवेन्द्रराज कँडेलले पनि घर मर्मतको नाममा मासिक ९ हजार रुपैयाँ लिँदै आएका छन् ।

संघीय संसदमा रहेका ३३४ सांसदको घर भाडा र घर मर्मतका लागि राज्यकोषमा वार्षिक ५० लाखभन्दा बढी व्ययभार पर्ने गरेको छ

काठमाडौंमा घर भएका सांसदहरु प्रेमप्रसाद तुलाचन, रेनुका गुरुङ, अमृता थापा, कर्मा घले, कृष्णबहादुर राई, कृष्णलाल श्रेष्ठ, गणेशकुमार पहाडी, गोमा देवकोटा, छक्कबहादुर लामा, जीवनराम श्रेष्ठ, जुलीकुमारी महतो, तिर्था गौतम, तेजुलाल चौधरी, दलबहादुर राना, दिलेन्द्रप्रसाद बडु, दिव्यमणि राजभण्डारी, दीपक प्रकाश भट्ट, धनबहादुर बुढा, नमिता कुमारी चौधरी, नारायणप्रसाद मरासिनी, निर्जला राउत, पोल्देन छेपाङ गुरुङ, प्रदीप गिरी, प्रेम सुवाल, भूमिप्रसाद त्रिपाठी, मानबहादुर विश्वकर्माले पनि घर मर्मतको सुविधा लिइरहेकै छन् ।

यसैगरी मायादेवी न्यौपाने, मीना पाण्डे, मोहन आचार्य, यज्ञराज सुनुवार, यशोदा सुवेदी, राजेन्द्र कुमार केसी, राजेन्द्रप्रसाद श्रेष्ठ, रानी मण्डल, रामबहादुर विष्ट, रेनु कुमारी यादव, लालप्रसाद (एलपी) सावा लिम्बु, लिलादेवी सिटौला, लेखराज भट्ट, बहादुरसिंह लामा, विना कुमारी श्रेष्ठ, शरतसिंह भण्डारी, शशी श्रेष्ठ, शेरबहादुर तामाङ, सरला कुमारी यादव, सरीता न्यौपाने, सुजिता शाक्य, सुरेन्द्र कुमार कार्की, सूर्य नारायण यादव, सूर्यप्रसाद पाठक, सन्जय कुमार गौतमले पनि घर मर्मत खर्चवापत ९ हजार रुपैयाँ लिइरहेका छन् ।

काठमाडौंमा घर भएका राष्ट्रियसभाका सांसदहरु वेदुराम भुसाल, दीनानाथ शर्मा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, रामनारायण बिडारी, रमेशजंग रायमाझी, विमला राई पौड्याल, शारदा देवी भट्ट, शेखर कुमार सिंह, सुमनराज प्याकुरेल, सुमित्रा बिसी, उदय शर्मा पौड्याल, कोमल वली, जितेन्द्र नारायण देव, तारा देवी भट्टले पनि घर मर्मत खर्च लिइरहेका छन् ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले भने, ‘ऐनबाट पाएको सुविधा उहाँहरुले लिनु भएको छ ।’

सांसदहरुलाई काठमाडौं उपत्यकामा घर छ या छैन ? भनेर फारम भराएर सोही आधारमा आवास खर्च र मर्मत खर्च उपलब्ध गराउने गरिएको संसद सचिवालयले जनाएको छ । कसैले लिन्न भनेर सूचना दिए सोहीअनुसार हुने सचिवालयका कर्मचारी बताउँछन् ।

उनीहरुका अनुसार सत्तारुढ नेकपाका सचिवालय सदस्यसमेत रहेका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सांसद भए वापत पाउने तलब लगायत सबै सुविधा नलिने भनेर जानकारी गराएकाले सोही अनुसार गरिएको छ । श्रेष्ठले कोरोना महामारी नियन्त्रण नभएसम्म सबैखाले सुविधा बन्द गरिदिन संसद सचिवालयलाई पत्र लेखेका थिए ।

हरेक महिना घर मर्मत हुन्छ ?

संघीय संसदमा रहेका ३३४ सांसदको घर भाडा र घर मर्मतका लागि राज्यकोषमा वार्षिक ५० लाखभन्दा बढी व्ययभार पर्ने गरेको छ ।

उपत्यकामा घर नभएका २२४ सांसदले भाडा तिर्न १८ हजार रुपैयाँका दरले ४० लाख ३२ र घर भएका ११० सांसदले मर्मतका लागि ९ हजारका दरले ९ लाख ९० हजार लिइरहेका छन् ।

काठमाडौंमा घर नभए सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभामा विपक्षी दलका नेता, उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षले घरभाडा बापत २५ हजार ६०८ तथा सत्तारुढ दलको प्रमुख सचेतक, सचेतक र विपक्षी दलको सचेतकले आवास सुविधा वापत २४ हजार २६८ रुपैयाँ पाउने पाउने कानुनी व्यवस्था छ ।

घर भएकाले मर्मतका नाममा आधा रकम पाउँछन् । सरकारी आवास पाएका सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षले आवास खर्च र मर्मत खर्च नलिएको संसद सचिवालयले जनाएको छ । मन्त्रीहरुलाई त सरकारले आवासको व्यवस्था गरेकै छ ।

‘कानुन नै त्रुटीपूर्ण’

घर भएका सांसदलाई मर्मत खर्च दिने कानुनी व्यवस्थाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको प्रश्न छ, ‘हरेक महिना घर मर्मत हुन्छ र मासिक पैसा लिनलाई ?’

उनका अनुसार यो नैतिक प्रश्न हो । सामान्यजनलाई समेत थाहा छ– हरेक महिना गरिबको पनि घर मर्मत गर्न पर्दैन, काठमाडौंमा पक्की घर बनाउनेको त कुरै अर्को हुन्छ । ‘काठमाडौंमा घर बनाउन सक्नेले मर्मत गर्न पनि सक्छन्’, उपाध्याय भन्छन्, ‘सुविधा दिने यो कानुन नै त्रुटीपूर्ण छ । यसमा पुनरावलोकन हुनुपर्छ ।’

उपाध्यायको भनाइ उनकै शब्दमा :

जनप्रतिनिधिहरुले कुनै सुविधा लिँदा जनताको अवस्था कस्तो छ भनेर हेर्नुपर्छ । सांसद पद जागिर होइन । जागिर खान जनप्रतिनिधि भएको पनि होइन । आफ्नै मनग्गे आम्दानी भएका जनप्रतिनिधिले त नैतिकता देखाउनु प¥यो नि । हाम्रो संसदमा उद्योगीपति विनोद चौधरी, मोतीलाल दुगडहरु पनि सांसद हुनुहुन्छ । उहाँहरु सुविधा लिनै आउनु भएको त होइन नि । उहाँहरुले नलिएर देखाउन पर्दैन ?

काठमाडौंमा आफ्नै घर भएका अन्य सांसदले महिनैपिच्छे मर्मत गरिरहेको पनि पक्कै होइन होला । उहाँहरुले एक महिनामै बिग्रने घर पक्कै बनाउनु भएको छैन होला । त्यसैले यो नैतिक प्रश्न हो । जसले घर मर्मत खर्च लिइरहनुभएको छ, त्यो नैतिक हो जस्तो लाग्दैन । सांसदलाई अनेक शीर्षकमा सुविधा दिने व्यवस्थालाई नै पुनरावलोकन गर्नुप¥यो ।

अझ कोभिडले आक्रान्त पारेको अवस्थामा सोहीअनुसारको मापदण्ड बनाएर सांसद सुविधा निर्धारण गरिनुपर्छ । 

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here