सगरमाथाको उचाई करिब १ मिटर अग्लियो, अब ८ हजार ८ सय ४८.८६ मिटर

0
14
ad

काठमाडौं : सगरमाथाको नयाँ उचाई ८ हजार ८ सय ४८. ८६ मिटर कायम भएको नेपाल र चीनले घोषणा गरेका छन्। सगरमाथाको उचाई झन्डै १ मिटर थपिएको दुई देशबाट भएका बेग्लाबेग्लै सर्बेले देखाएको हो।

६६ वर्षपछि सगरमाथाको नयाँ उचाई रेकर्ड भएको हो। दुई वर्ष लगाएर सन् १९५४ मा सर्बे अफ इन्डियाले सगरमाथाको उचाई लिएको थियो। त्यतिखेरको सर्बेमा ८ हजार ८ सय ४८ मिटर कायम थियो।

नापी विभागमा आज आयोजित कार्यक्रममा नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन्। ६६ वर्षपछि नेपालले पहिलो पटक आफैँले सगरमाथाको उचाईको सर्बे गरेको हो। नापी विभागले यसको नेतृत्व गरेको थियो।

दुई देशको सर्बेमा एकै उचाई देखिएपछि आज सगरमाथाको नयाँ उचाई कायम गरिएको हो।

फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक  नापी विभागकै जनशक्तिबाट नेपालकै प्रयोगशालामा प्रशोधन तथा मिराष्ट्र चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम तय भएको हो।

नेपालका नापी अधिकृतले २ वर्ष लगाएर सगरमाथाको मापन गरेका हुन्।

सर्वोच्च चुचुरोको नयाँ उचाई सार्वजनिक समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको उपस्थिति थियो। चीनका विदेश मन्त्री वाङ यी पनि भर्चुअल रुपमा समारोहमा जोडिएका थिए।

नयाँ उचाई उद्घोषको कार्यक्रममा चिनियाँ पक्ष भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडिएको थियो।

परराष्ट्र मन्त्री ज्ञवालीले सगरमाथाको नयाँ उचाई घोषणलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको शुभकामना सन्देश पढेर सुनाएका थिए।

मंसिर १० गतेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्न भूमि व्यवस्था मन्त्रालयलाई स्वीकृति दिएको थियो। नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली सगरमाथाको उचाइ मापन पूरा गरेर गत वर्षको जेठ महिनामा काठमाडौं फर्किएको थियो।

उनीहरुले सगरमाथाको चुचुरोमा एक घण्टाभन्दा बढी समय बिताएर अध्ययन गरेका थिए।

‘ग्लोबल न्याभिगेसन स्याटालाइट सिस्टम’ को प्रयोग गर्दै सगरमाथाको उचाइ लिने काम भएको हो। नयाँ उचाई ६ महिनामा नै उचाइ सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारणले नयाँ मिति घोषणा गर्न ढिला भएको थियो।

नेपाल र चीनबीच संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएकाले पनि यसले समय लिएको हो।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा नेपाल र चीनका राष्ट्राध्यक्षहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सहमति भएको थियो। दुवै राष्ट्राध्यक्षहरुले ‘सगरमाथा नेपाल र चीनबीच मित्रताको प्रतीक’ रहेको बताएका थिए।

सी नेपाल आउनुअघि नै नेपालले सगरमाथाको उचाइ मापन गरिसकेको थियो। चीनले भने कोरोना संक्रमणबीच यही वैशाखमा सगरमाथाको उचाइ लिएको हो। त्यसैले संयुक्त विज्ञप्तिमा सगरमाथाको उचाइ मापन गरेर संयुक्त रुपमा नै उचाइ घोषणा गर्ने सहमति भएकोले नेपालले गरेको अध्ययनको निष्कर्ष सार्वजनिक गर्न ढिला भएको थियो।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने अनुमान गरिएको थियो। चीनले भूकम्पअघि नै सगरमाथाको उचाइ घटेको दाबी गरेको थियो। तर, नेपालले भने सगरमाथाको उचाइ पहिले झै ८ हजार ८ सय ४८ मिटर नै रहेको दाबी गर्दै आएको थियो।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here