पेट्रोलियम पदार्थको आयात रोकिए पनि समस्या पर्दैन : मन्त्री पुन

0
8
ad

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले सबै प्रकारका अप्ठ्यारोमा समेत ऊर्जा संकट नआउने गरी सरकारले काम गरिरहेको बताएका छन् । नाकाबन्दीका समयमा डिजेल/पेट्रोलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत उत्पादन र वितरण हुने भएकाले आगामी दिनमा पेट्रोलियम पदार्थको आयात रोकिए पनि समस्या नआउने उल्लेख गरे ।

सरकारले ऊर्जा दशक (२०७५–२०८५) कार्यक्रम कार्यान्वयन गरिरहेको भन्दै उनले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने बताए । १० हजार मेगावाटले आन्तरिक माग धान्ने र बाँकी ५ हजार मेगावाट क्षेत्रीय बजारमा बिक्री गर्ने मन्त्री पुनको भनाइ थियो ।

‘सरकारले ऊर्जामा आत्मनिर्भरताका लागि नीति, कार्यक्रम र रणनीति बनाएरै काम गरिरहेको छ’, विकास निर्माणका क्रममा स्थानीयलाई परेको मर्काबारे ध्यानाकर्षण गराउन आएका धादिङका सांसद र स्थानीय जनप्रतिनिसँगको छलफलमा आइतबार मन्त्री पुनले भने, ‘विगतमा जस्तो डिजेल, पेट्रोलयको आयात नहुँदा देशै ठप्प हुने अवस्था अब धेरै समय रहँदैन ।’

मन्त्री पुनले वर्तमान सकार बनेपछि नेपालले भारत, चीन र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरेको चर्चा गर्दै विद्युत बढी हुँदा क्षेत्रीय बजारमा निर्यात र अपुग हुँदा आयात गरिने बताए ।
‘हामीले भारत, चीन र बंगलादेशसँग सम्झौता गरिसकेका छौं’, उनले भने, ‘बढी हुनेबित्तिकै बेच्न र आवश्यक पर्ने बित्तिकै ल्याउन सक्छौं ।’ मन्त्री पुनले चालु आर्थिक वर्षमै थप एक हजार ३ सय मेगावाट विद्युत राष्ट्रि«य प्रसारण प्रणालीमा थपिएर कूल जडित क्षमता २ हजार ६ सय मेगावाट हुने उल्लेख गरे ।

विद्युत उत्पादन र प्रसारणका आयोजना निर्माणका क्रममा कतिपय सर्वसाधारणले घर÷जग्गा गुमाउने परे पनि ती पूर्वाधारका कारण कहिल्यै कल्पना नगरिएको पहरोमा छिचोलेर सडक निर्माण भएको, बजार विस्तार भएको तथा रोजगारीको अवसर सिर्जना भएको विषयलाई बिर्सन नहुने स्मरण गराए ।

उनले विकास आयोजना प्रभावितलाई सरकारले मुआब्जा उपलब्ध गराउनुका साथै स्थानीय आयोजना प्रभावितले शेयर पाएको चर्चा पनि गरे ।

यस्तै ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले २ सय २० केभी प्रसारण लाइन निर्माणमा एक दिन पनि ढिलाइ हुन नहुनेमा जोड दिए ।
यसैबीच मस्र्याङदी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा धादिङको सिद्धलेक गाउँपालिका–७ पिपलटारमा स्थानीयले पूर्वनिर्धारित स्थानबाट केही टावर अन्यत्र सार्नुपर्ने माग राख्दै आएका छन् । स्थानीयको मागबारे धादिङका जनप्रतिनिधिले मन्त्री पुनको ध्यानाकर्षण गराए ।

स्थानीयका मागबारे जानकारी दिएपछि मन्त्री पुनले समस्या समाधानका लागि सुझाव दिने गरी आइतबारै एक कार्यदल गठन गरेका छन् ।
ऊर्जा मन्त्रालयका सह–सचिवको नेतृत्वमा गठित पाँच सदस्यीय कार्यदलमा नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रशासन कार्यालय धादिङका प्रतिनिधि, सिद्धलेक गाउँपालिका–७ का वडाअध्यक्ष र प्रभावितमध्येबाट एक प्रतिनिधि छन् ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here