अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

0
8
ad

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना सदस्य गम्भिर घाइते भएका छन् । स्वाश प्रस्वाशमा समस्या भई उपचारका लागि बिराटनगर जाँदै गरेका सप्तरी तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाका ६० वर्षीय पण्डित भनिने ननुलाल मण्डलको सोमबार साँझ दुर्घटनामा परी मृत्यु भएको हो ।

राजविराजबाट स.१च. ११२२ नम्बरको एम्बुलेन्स रिजर्भ गरी बिराटनगरतर्फ उपचारका लागि लाँदै गर्दा मोरङको टंकीसिनवारी नजिकै एम०१–एल०३३६ नम्बरको ट्रली गाडीसँग ठोकिएर भएको दुर्घटनामा मण्डलको ज्यान गएको जानकारी प्राप्त भएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।

छातीमा गहिरो चोट लागेको मण्डलको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनका ५० वर्षीया पत्नी भोलीदेवी, ४९ वर्षीय भाई रामसुन्दर र ३० वर्षीय कान्छो छोरा जितेन्द्र गम्भिर घाइते भएका छन् । तीनै जनाको बिराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटना पश्चात् दुबै गाडीका चालक फरार भएकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरीको भनाई छ । दुर्घटनाको खबर सुनेपछि मण्डल परिवार शोकमा डुबेका छन् । मंगलबार बिहानै बिराटनगरतर्फ जाने तयारीमा रहेका जेठा छोरा दिपेन्द्रले गहभरी आँसु पार्दै भने, ‘बुबाले उपचार गराई भोली नै फर्किन्छु भन्नु भएको थियो, यस्तो विपत्ति आइलाग्यो ।’ घटनापछि उनको घरमा आफन्त र गाउँलेको भिड लागेको छ ।

ad

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here