विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाउँदै छन् । इस्टर सन्डेको अवसरमा आज सुर्खेतमा एक र्यालीको आयोजना गरिएको छ । सुर्खेत जिल्लाको विभिन्न स्थानबाट छिन्चुमा भेला भएर सुरु भएको र्याली छिन्चुको मेला डाडामा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
इसाई धर्मगुरु येशुलाई क्रसमा चढाइएको ३ दिन पछि उनको शरीर पुनः जागृत भएको भन्ने विश्वासका साथ ईस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार हजारौँ साल पहिला शुक्रबारको दिन येशुको यरुशलमको पहाडमा क्रसमा चढाइएको थियो । त्यसको ३ दिन पछि उनी पुनः जीवित भएका थिए । त्यस दिन आइतबार परेको थियो ।
इस्टर सन्डेलाई येशुको पुनर्जन्म भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनः जीवित भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समय कालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ ।
आजको दिन इसाई धर्मावलम्बीले अण्डाको विशेष सजावट गरेर एक अर्कालाई उपहार स्वरूप दिन्छन् जसलाई नयाँ जीवनको सुरुवातको रूपमा लिने गरिन्छ ।